सहिदलखन गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा मनकामना प्रसिद्ध मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र धाम मनकामनालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र देशी, विदेशी पर्यटक भित्र्याउने लक्ष्य पालिकाको छ ।

यो मन्दिर करिब चारसय बर्ष प्राचीन मानिन्छ । यहाँ बर्षमा लाखौं पर्यटक भित्रिन्छन् । विशेषगरी भारतीय पर्यटक धेरै भित्रिन्छन् । दैनिक चार पाँच हजार भक्तजनहरु भित्रिने यहाँ अधिकांश भारतीय हुने गर्छन् । मनकामना मन्दिरको उत्पत्तिको किंवतन्ती तत्कालीन राजा राम शाहकी महारानीसंग जोडिन्छ । त्यस बेलादेखि स्थापना भएर पूजाआजा सुरु भएको सो मन्दिरको लोकप्रियता, प्रसिद्धि आजसम्म निरन्तर बढिरहेको छ ।
यसको ऐतिहासिक, धार्मिक महत्व र वर्तमान लोकप्रियताका कारण विश्व सम्पदा सूचीमा सूचीकृत गर्न योग्य छ । कुनै पनि स्थललाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि युनेस्कोले केही महत्वपूर्ण प्रावधान र मापदण्ड तोकेको छ । कुनै पनि सम्पदा स्थल विश्वव्यापी रूपमा असाधारण महत्वको हुनुपर्छ, जसले मानवजातिको लागि समग्रमा साझा महत्व राख्छ र जसको संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ । यसको अर्थ त्यो स्थल कुनै राष्ट्रिय सिमानाभन्दा माथि उठेर सम्पूर्ण मानवताका लागि महत्वपूर्ण हुनुपर्छ ।

मानव सिर्जनशील प्रतिभाको उत्कृष्ट कृति हुनुपर्ने, वास्तुकला, प्रविधि, स्मारकीय कला, सहर योजना वा भूदृश्य डिजाइनको विकासमा मानव मूल्यहरूको महत्वपूर्ण आदानप्रदानको प्रमाण हुनुपर्ने, कुनै लोप भइसकेको वा जीवित सांस्कृतिक परम्परा वा सभ्यताको लागि अद्वितीय वा कम्तीमा पनि असाधारण गवाही हुनुपर्ने, मानव इतिहासको महत्वपूर्ण चरणहरूलाई चित्रण गर्ने भवन, वास्तुकला वा प्राविधिक समूह वा भूदृश्यको उत्कृष्ट उदाहरण हुनुपर्ने छ ।


यस्ता मापदण्ड पूरा गरेको मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गनु उचित हुनेछ ।










