२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

गोरखाको चुम्चेतमा भीरबाट खसेको ढुंगाले घाइते भएका व्यक्तिको दुई दिनपछि हेलिकप्टरमार्फत उद्धार

गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा भीरबाट खसेको ढुंगाले लागेर घाइते भएका एक पुरुषको दुई दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

४५ वर्षीय ङुइटुप लामालाई गोरखा १ का सांसद राजेन्द्र बजगाईको समन्वयमा बुधबार दिउँसो अल्टिच्यूड एयरको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको हो। उनी काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन्।

गत सोमबार छेकम्पार जाने क्रममा रेन्जोम भन्ने स्थानमा भीरबाट खसेको ढुंगाले लाग्दा लामाको देब्रे खुट्टा भाँचिएको थियो। तत्काल उद्धार र उपचारको सुविधा नहुँदा उनी गाउँमै छटपटाइरहेका थिए।

स्थानीय गोपाल लामाका अनुसार गाउँमा न त राम्रो स्वास्थ्य सेवा छ, न त यातायात। ‘गाउँकै हेल्थपोस्टमा सामान्य पट्टी मात्र बाँधियो,’ उनले भने, ‘हिजो दिनभर गाउँलेले पाँच घण्टा बोकेर घर ल्याएका थिए, तर तत्काल काठमाडौं लैजान सकिने अवस्था थिएन।’

बर्खायामको कारण मोटरबाटो चुमनुब्री गाउँपालिका–३ सम्म मात्रै सञ्चालनमा रहेको र सो पनि सधैं खुला नहुने स्थानीयले बताएका छन्। ‘सडक सोतीसम्म मात्रै चल्छ, तर बर्खामा त्यहाँसम्म पनि गाडी पुग्दैन,’ स्थानीय गोपाल गुरुङले भने, ‘गाउँबाट बिरामी बोकेर सोतीसम्म पुर्याउन तीन दिन लाग्छ।’

सञ्चार सेवाको अवस्था पनि कमजोर रहेको भन्दै उनले दुःख पोखेका छन्। ‘गाउँमा फोन चल्दैन, इन्टरनेट पनि राम्रो छैन, यस्तो बेलामा बाहिर जानकारी दिन र उद्धारको पहल गर्न निकै गाह्रो पर्छ,’ गुरुङले बताए।

दुर्गम बस्ती भएका कारण यस्ता समस्याले स्थानीयलाई सधैं सताउने गरेको र उपचारको अभावमा ज्यान जोखिममा पार्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।

उद्धार गरिएको घाइते लामाको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।